चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुले १०० दिनमा गरेको कामहरुको विवरण आज सार्वजनिक गरेको छ । बेल्टार बजारस्थित वडा कार्यालयमा भएको वडामा सुचिकृत टोल बिकास संस्थाहरुलाई प्रमाणपत्र बितरण तथा वडाको १०० दिने कार्यहरुको विवरण सार्वजनिक गर्ने कार्यक्रममा वडामा सुचिकृत भएका १९ वटा टोल बिकास संस्थाहरुलाई सुचिकृतको प्रमाणपत्र वितरण गरिएको थियो भने वडाले १०० दिनको अबधीमा गरेको बिकास निमार्ण तथा क्रियाकलापको प्रतिबेदन सार्वजनिक गरेको थियो ।
प्रतिबेदन वाचन गर्दै वडा सदस्य आशा परियारले आफुहरु निर्वाचित भएर आए लगतै वडाका बाटोहरुको मर्मत र स्तरोन्नती गर्न ७ सय ४१ ट्याक्टर गिटी बिछ्याएको, जिर्ण अबस्थामा रहेको श्रीपञ्चमी र लामेचौरी कुलोको मर्मत सम्भार गरेको, लामेचौरी, कुमाङ्ग, देवीथान डाँडा र माटेखाडीमा स्थानीयहरुको श्रमदानमा तार जालीसहितको बाध निमार्ण गरेको बताएकी छिन् । यस्तै उनले जनप्रतिनीधिहरुको ब्यक्तिगत खर्चमा मतदाता नामावलीमा नाम छुटेका ३ सय ७ जनालाई सदरमुकाम गाईघाटस्थित निर्वाचन कार्यालयमा लगेर मतदाता नामावलीमा नाम समाबेश गराएको, डेंङ्गु नियन्त्रणका लागि फगिङ्ग मेशन खरीद गरी बिषादी छर्किएको, पशुको नश्ल सुधारका लागि विउँ राँगा खरिद गरीएको लगायतका कार्यहरुको विबरण पनि प्रस्तुत गरेकी थिईन् । यस्तै वडा सदस्य परियारले वडाले गरेको कामहरुको विवरण सार्वजनिक गर्दै १०० दिको अबधीमा वडाले १९ वटा टोल बिकास समितिको गठन र सुचिकरण गरेको, योजना, न्यायिक, विपद् ब्यबस्थापन, स्वास्थ्य ब्यबस्थापन , अब्यबस्थित बसोबासीको सहजीकरण समिति लगायतको समितिहरुको गठन गरेको त्यस्तै यसअघिको वडाका रहेका श्रीपञ्चमी र सगरमाथा आबासीय बिद्यालयका बिधार्थीहरुलाई कापी, कलम वितरण गर्ने कार्यलाई निरन्तरता र सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गरेको लगायतका कामहरुको विवरण प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमका अध्यक्षता गरेका वडा अध्यक्ष केशव अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै टोल बिकास संस्थाको सुझाव अनुसार अगाडी बढ्ने बताउदै आफुहरुले गरेको कामहरुको प्रशंसा मात्र नभएर कमी कमजोरीहरु पनि औउलाईदिन आग्रह गरेका थिए । यस्तै उपस्थित टोल बिकास संस्थाका प्रतिनीधिहरुले भने वडासंग सहकार्य गर्दै अगाडी बढ्ने बताउदै वडाको बिकास निमार्णमा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।