आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा सम्पन्न आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुनले जितेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको अत्यन्त रोमाञ्चक खेलमा एभिनियर क्लब क्यामरुनले चारतारे फुटवल क्लब मोरङ्गलाई ट्राईबेकरमा ४–३ ले पराजित गरेको छ । यसअघि भएको निर्धारित ८० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । खेलको पहिलो हाफको २ मिनेट मै एभिनियरका अब्दुल्लाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर मोरङका खेलाडी अभिषेक लिम्बुले पनि गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि खेलको दोश्रो हाफको सुरुवातमै मोरङ्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए तर खेलको अन्तिम समयमा एभिनियरले गोल फर्काउदै टिमलाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा दुबै टिले थप गोल गर्न सकेन र खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । हिजो खेलमा म्यान अफ द म्याच मोरङका सुशील राई घोषित भएका थिए । उपाधीसंगै क्यामरुनले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पनि पाएको छ भने उपबिजेता भएको मोरङ्गले नगद २ लाख रुपैयाँसहित मेडल र प्रमाण पत्र पाएको छ । साथै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडी तथा कोचलाई १०/१० हजार नगद पुरस्कार प्रदान गरिएको थियोे । पुरस्कार प्रमुख अतिथी तथा अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राई, विशिष्ट अतिथिहरु चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान तामाङ, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की लगायत अन्य समाजसेवीहरुले प्रदान गरेका थिए ।