आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ लाख ५० हजारसम्म खर्च गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको हो । खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ ।