कुमार खड्काद्वारा उदयपुर क्षेत्र नम्बर १ क कालागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा ।

चौदण्डीगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा टिकट बाड्फाँड्मा असन्तुष्ट रहेर तत्कालिन माओवादी केन्द्रबाट अलग भएको समुहमा अन्य दलबाट पनि केही स्थानीय नेता तथा कार्यकर्ताहरु थपिएपछि उत्साहित भएको स्वतन्त्र नागरिक समाज चौदण्डीगढीले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सभाका लागि उदयपुर क्षेत्र नम्बर १ क मा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको छ ।
बेल्टार बजारस्थित पुष्पलाल चौकमा भएको कार्यक्रमबाट समाजले तत्कालिन माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य कुमार खड्कालाई उम्मेदवारको रुपमा अघि सारेको छ । स्वतन्त्र नागरिक समाजको नाममा चौदण्डीगढी नगरपालिकामा आफ्नो संगठनलाई मजबुत बनाईरहेको यो समुहले छिमेकी बेलका नगरपालिकामा पनि त्यहाँका बिभिन्न पार्टीमा असन्तुष्ट रहेका तथा स्वतन्त्र गतिबिधी गरिरहेकाहरुलाई आफ्नो संगठनमा जोडिरहेको र चौदण्डीगढी र बेलकाका कार्यकर्ताहरुको भावनालाई समेट्दै प्रदेश सभा क्षेत्र नम्बर १ क कालागि उम्मेदवारी घोषणा गरेको समुहका सदस्य कमलध्वज राईले बताएका छन् ।
आजको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका कुमार खड्काले यसअघि आफुहरु बिभिन्न पार्टीमा आबद्ध रहेपनि राजनीतिक पार्टीको पछि लागेर नागरिकको जीवनमा परिवर्तन ल्याउन नसक्ने ठम्याई गरेकोले स्वतन्त्र अभियानमा सामेल भएको बताएका छन् । पार्टीको नाममा नातावाद, कृपावादले प्रश्य पाएको बताउदै खड्काले राजनीतिक पार्टीको नाममा टिकटको किनबेच हुने , चाकरी र चापुलुसीको बोलबाला हुने तथा सर्वसाधारणले मौका नपाउने अबस्था आएको भन्दै स्वतन्त्र नागरिक अभियानमा लाग्नु पर्ने बताएका छन् । यस्तै खड्काले आफुले चुनाव जितेमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निशुल्क बनाउने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।
एता स्वतन्त्र अभियान समाज चौदण्डीगढीले उदयपुर क्षेत्र नम्बर १ प्रदेश सभा १ क कालागि आफ्नो उम्मेदवारको घोषणा गरेपनि मुलधारका पार्टीहरु कांग्रेस, एमाले र माओवादीमा पार्टीले कस्लाई टिकट दिन्छ भन्ने कुरा स्पष्ट भएको छैन । नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापति तथा महाधिबेशन प्रतिनीधि भोजराज खतिवडाको नाममा सहमति रहेको भएपनि सत्ता गठबन्धनले निर्णय गर्न नसक्दा अन्यौल कायम रहेको छ । नेपाली कांग्रेसको प्रदेश कमिटीले खतिवडासहित प्रदेश सभा १ क का सभापति अर्जुन दाहाल र युवा नेता सुनिल राउत दिपकको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । तर दाहाल र राउतले खतिवडाको नाममा सहमति जनाएको कांग्रेसी नेताहरुको भनाई छ ।
सत्ता गठबन्धनले टुङ्गो लगाउन नसक्दा माओवादी केन्द्रले पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। सत्ता गठबन्धनको पुर्व सहमति अनुसार प्रदेश सभा १ क माओवादी केन्द्रको भागमा पर्ने भएपनि निर्णय हुन बाँकी नै छ । यद्यपी माओवादी केन्द्रका नेताहरु राजन किराँती लगायतले आफ्नो तर्फबाट तयारी अगाडी बढाएका छन् । माओवादीले प्रत्यक्षतर्फ माओवादी नेताहरु किराँतीसहित मणि खम्बु, मनोज तामाङ्ग र रमण भट्टराईको नाम सिफारिस गरेको थियो । एता नेकपा एमालेले पनि अहिलेसम्म उम्मेदवारको नाम टुङ्गयाउन सकेको छैन । एमाले नेताहरु शम्भु पौडेल र कुशलबाबु बस्नेतको नाममा तिब्र प्रतिस्पर्धा रहेको बताइए पनि अहिलेसम्म निर्णय हुन सकेको छैन ।