नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि समाबेश गरिएको छैन । नेपाली कांग्रेस उदयपुरको भदौं १८ गते सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरेको थियो भने संघतर्फ समानुपातिकका लागि झण्डै २ दर्जन नेताहरुको नाम सिफारिस गरेर पठाएको थियो ।
बैठकले उदयपुर क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको थियोे । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का, हेरम्ब बहादुर थापा, त्रिभुवन दाहाल, ज्ञानकुमारी गिरी र गडुल बहादुर सारु मगरको नाम सिफारिस गरेको थियो । यि नामहरुबाट नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा एक जनाको नाम पनि समाबेश नभएको हो ।
नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएकोमा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिएका थिए । नेपाली कांग्रेसले निर्वाचन आयोगमा खसआर्य तर्फ महिला १७ जना, पुरुषमा १७ जना, आदिबासी जनजातीतर्फ महिलामा १६ जना, पुरुष १६ जना, दलिततर्फ ८ महिला जना र ७ जना पुरुष, मद्येशीतर्फ महिला ९ जना र पुरुष ८ जना, थारुतर्फ ४ महिला जना र ३ जना पुरुष तथा मुश्लिमतर्फ ३ महिला जना र २ जना पुरुषको नाम पेश गरेको छ ।